सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 78

यो अध्याय यसमा पर्छ: Boek III

1हे मेरा मानिसहरू, मेरो शिक्षा सुन। मेरा मुखका वचनहरू सुन। 2दृष्‍टान्तमा म आफ्‍नो मुख खोल्नेछु। विगतका गुप्‍त कुराको बारेमा म गीत गाउनेछु। 3हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन्। 4तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं। परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्‍मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं। 5किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो। उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो। 6उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ। 7तब तिनीहरूले आफ्‍नो आसा परमेश्‍वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून्। 8तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए। एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन्। 9एफ्राइमीहरू धनुले सुसज्‍जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के। 10तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे। 11तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से। 12मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से। 13उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो। उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो। 14दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो। 15उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो। 16चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो। 17तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे। 18आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए। 19तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले। तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र? 20हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे। तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?” 21जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो। त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो, 22किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन्। 23तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो। 24तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो। 25मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए। तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो। 26उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो। 27धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो। 28तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे। 29त्यसैले तिनीहरूले खाए र अघाए। तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो। 30तर तिनीहरू अझै अघाएका थिएनन्। तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो। 31तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तिमध्येका बलियाहरूलाई मार्‍यो। उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो। 32यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन्। 33यसकारण परमेश्‍वरले तिनीहरूका दिनहरू घटाउनुभयो। तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए। 34जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्‍सुकतासाथ खोजे। 35परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे। 36तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले। 37किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन्। 38तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन। हो, धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन। 39तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो। 40उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए! 41तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए। 42तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो, 43जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो। 44उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन्। 45उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो। 46तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो। 47तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो। 48तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्‍नुभयो। 49उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो। उहाँले क्रोध, रिस र समस्‍यालाई विपत्ति ल्याउने एजेन्‍टझैं पठाउनुभयो। 50आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो। उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो। 51मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो। 52आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो। 53सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो। 54त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो। 55तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो। इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो। 56तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन्। 57तिनीहरू अविश्‍वासयोग्य भए र आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे। तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए। 58किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए। 59जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो। 60शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो। 61उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो र आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो। 62उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्‍पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो। 63आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्‍म पारे, र तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन। 64तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन्। 65अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो। 66उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो। उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो। 67उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन। 68उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो। 69उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो। 70उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो। 71आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो। 72आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।