सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 139

यो अध्याय यसमा पर्छ: Boek V

1हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ। 2म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ। तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ। 3तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ। मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ। 4हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्‍यो पूर्ण रूपमा जान्‍नुहुन्छ। 5मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्‍नुहुन्छ। 6यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ। यो अत्यन्त उच्‍च छ, म यसमा पुग्‍नै सक्दिनँ। 7तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्‍न सक्छु र? 8आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ। मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ। 9प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्‍लो भागमा बसें भने, 10त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ। तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्‍नेछ। 11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,” 12तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन। रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन्। 13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो। मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो। 14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु। मेरो प्राणले यो राम्ररी जान्दछ। 15जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन्। 16तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो। मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए। 17हे परमेश्‍वर, तपाईंका विचारहरू मेरो निम्‍ति कति बहुमूल्य छन्! तिनका सङ्ख्‍या कति धेरै छन्! 18तिनलाई मैले गन्‍न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्‍छन्। म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु। 19हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभएको भए असल हुन्‍थ्‍यो। ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ। 20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन्। तपाईंका शत्रुहरूले झुटा बोल्छन्। 21हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र? 22म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु। तिनीहरू मेरा शत्रुहरू भएका छन्। 23हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस् र मेरो हृदय जान्‍नुहोस्। मलाई जाँच्‍नुहोस् र मेरा विचारहरू जान्‍नुहोस्। 24मभित्र कुनै दुष्‍ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।