सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 69

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, मलाई बचाउनुहोस्। किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ। 2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन। म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन्। 3म आफ्‍नो चित्‍कारले थाकेको छु। मेरो घाँटी सुकेको छ। मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन्। 4विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन्। मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन्। मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ। 5हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन्। 6हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्‍नेहरू लज्‍जित नहोऊन्। हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून्। 7तपाईंको खातिर मैले हप्की सहेको छु। मेरो मुहार लाजले ढाकेको छ। 8मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु। 9किनको तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ। 10जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे। 11जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें। 12सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन्। म जड्याँहाहरूका गीत भएको छु। 13तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ। तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस्। 14मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस्। मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस्। 15बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस्। खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस्। 16हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्‍तता असल छ। मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस्। 17आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु। मलाई चाँडै जवाफ दिनुहोस्। 18मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस्। मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस्। 19मेरो हप्‍की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ। मेरा वैरीहरू सबै मेरै सामु छन्। 20हप्कीले मेरो हृदय तोडिएको छ। म गह्रौं बोझले दबिएको छु। कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन। मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ। 21खानलाई तिनीहरूले मलाई विष दिए। म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए। 22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस्। तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस्। 23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून्। अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस्। 24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस्। 25तिनीहरूको ठाउँ उजाड होस्। तिनीहरूको पालमा कोही नबसोस्। 26किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्‍तिलाई तिनीहरूले सताए। तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए। 27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस्। तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून्। 28तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस्। 29तर म गरीब र दुःखी छु। हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस्। 30गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्‍च पार्नेछु। 31सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्‍यसले परमप्रभु खुसी पार्नेछ। 32नम्रहरूले यो देखेका छन् र खुसी भएका छन्। परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस्। 33किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न। 34स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून्। 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ। मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन्। 36उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्‍त गर्नेछन्। अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्‍नेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।