सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 34

यो अध्याय यसमा पर्छ: Elihu

1अझै एलीहूले निरन्‍तर बोले, 2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस्। हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस्। 3जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ। 4जे न्‍यायोचित छ, सो हामी आफ्‍नो निम्‍ति रोजौं। जे असल छ, सो हामी आफ्‍नो बिचमा खोजौं। 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ। 6मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ। म पापी नभए पनि मेरो घाउ निको हुँदैन।' 7अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्, 8जो दुष्‍ट काम गर्नेहरूको सङ्गतमा जान्छन्, र जो दुष्‍ट मानिसहरूसितै हिंड्छन्। 9किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन।' 10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस्। परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न। सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न। 11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ। उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ। 12वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न, न त सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ। 13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र? 14उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए, 15तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे। मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो। 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस्। मेरो वचनको आवाजलाई सुन्‍नुहोस्। 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ? 18परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ।' 19परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन्। 20एकै क्षणमा तिनीहरू मर्नेछन्। मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन्। शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन। 21किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ। उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ। 22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन्। 23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन। कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन। 24उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन। उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ। 25यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ। उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ। तिनीहरू नष्‍ट हुन्छन्। 26अरूले देख्‍नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ, 27किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे। 28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए। कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो। 29जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ, 30जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस्। 31मानौँ, कसैले परमेश्‍वरलाई भन्छ, 'म निश्‍चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ। 32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस्। मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ।' 33तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्‍ने हो, मैल होइन। त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस्। 34सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ, 35'अय्यूब ज्ञानविनै बोल्छन्। तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन्।' 36अय्यूबले दुष्‍ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त! 37किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन्। हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन्। तिनी परमेश्‍वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।