सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 31

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1मैले मेरा आँखासित करार बाँधेको छु। तब कसरी कुनै कन्यालाई म कुदृष्‍टिले हेर्न सक्छु र? 2किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्‍छ र? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्‍छ र? 3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें। 4के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र? 5म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्‍छन् भने, 6न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्‍वरले मेरो सत्यनिष्ठा जान्‍नुहुनेछ। 7मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने, 8तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन्। 9मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने, 10तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून्। 11किनकि त्यो त डरलाग्दो अपराध हुन्छ। वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ। 12किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ। 13मेरो कमारा वा कमारीले न्‍यायको लागि बिन्‍ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए, 14जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र? 15मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र? 16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने, 17अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने— 18किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु। 19लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने, 20मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने, 21सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस्। 22मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस्। 23किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ। उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ। 24सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने, 25मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस्। 26सूर्य उदाउँदा मैले त्‍यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्‍किलो भएर हिंडेको हेरेको भए, 27अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए— 28यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्‍थ्‍यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्‍वरलाई मैले इन्कार गरेको हुन्‍थें। 29मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस्। 30वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ। 31मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्यूबको भोजनले तृप्‍त नभएको मानिस कसैले भेट्टाउन सक्छ?' 32(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस्। 33आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए, 34(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस्। 35ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ। सर्वशक्तिमान्‌को जवाफ पाऊँ। मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त, 36निश्‍चय पनि त्‍यो म आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें। मुकुटझैं त्‍यो म लगाउँथें। 37जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन्, त्‍यसरी नै उहाँलाई म आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें। 38मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने, 39त्‍यसको फसलको लागि मूल्‍य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने, 40तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस्।” अय्यूबका वचनहरू सकिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।