सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 21

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1तब अय्यूबले जवाफ दिए र भने, 2“मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस्। 3मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु। मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस्। 4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू? 5मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस्। 6मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ। 7दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्? 8तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्। 9तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन्। न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ। 10तिनीहरूका बहर मिसिन्छन्। त्‍यसो गर्न चुक्‍दैनन्। तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन। 11तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन्। 12तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन्। 13तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन्। 14तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं। 15सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?' 16हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन। 17कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ? 18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्? 19तपाईंहरू भन्‍नुहुन्छ, 'मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ।' त्‍यो उसैले भोग्‍नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस्। 20उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस्। 21किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र? 22परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र? 23एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ। 24उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ, र उसको हड्‍डीहरूको मासी ताजा हुन्छ। 25अर्को मानिस मनको तिक्‍ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन। 26तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन्। तिनीहरू दुवैलाई किराहरूले ढाक्छन्। 27हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु। 28किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ?' 29यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन, 30कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ? 31दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र? 32तापनि उसलाई चिहानमा लगिनेछ। मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन्। 33मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ। अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन्। 34तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन?”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।