सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 23

यो अध्याय यसमा पर्छ: Over de volken

1टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ। किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ। साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ। 2ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस। समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन्। 3ठुला पानीमाथि सिहोरको अन्‍न थियो, नील नदीको उत्पादन त्यसको उब्‍जनी थियो। अनि त्‍यो जातिहरूको व्यापार भयो। 4ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ। त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु।” 5मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन्। 6तर्शीशपारि जाओ। ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर। 7ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ? 8मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्? 9त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो। 10ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत्। टुरोसमा अब फेरि बजार-क्षेत्र छैन। 11परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ। फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ। 12उहाँले भन्‍नुभयो, “ए सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस्। उठ्, साइप्रसमा पारि जा। तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस्।” 13कल्दीहरूको देशलाई हेर्। यी मानिहरू समाप्‍त भएका छन्। अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन्। तिनीहरूले आफ्‍ना घेरा-मचान खडा गरेका छन्। तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे। तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए। 14ए तर्शीशका पानी जहाजहरू हो, कराओ। किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ। 15त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ। सत्तरी वर्षको अन्‍तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ। 16ए बिर्सिएकी वेश्‍या, एउटा वीणा लि र सहरमा जा। त्‍यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ। 17सत्तरी वर्षपछि त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे। 18त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ। ती भण्डारमा राखिने वा कोषमा जम्‍मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।