सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 1

यो अध्याय यसमा पर्छ: Oordeel en belofte voor Juda

1यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन। 2ए आकाश सुन्, र ए पृथ्वी कान थाप्। किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्। 3गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन।” 4धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन्। 5तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ। 6शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन। घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन्। ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन्। 7तिमीहरूका देश विनाश भएको छ। तिमीहरूका सहरहरू भष्‍म पारिएका छन्। तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन्। 8सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ। 9सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं। 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन। ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन। 11परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ। र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न। 12तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ? 13व्यार्थका बलिदानहरू ल्याउन छोड। धूप मेरो निम्ति घृणित कुरा हो। तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ। 14तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु। ती मेरो निम्ति बोझ हुन्। ती बोहोरेर म थाकिसकेको छु। 15त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु। तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन। तिमीहरूका हातहरू रगतले भरिएका छन्। 16नुहाओ र आफूलाई शुद्ध पार। मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ। खराब हुन छोड। 17असल गर्न सिक। न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर।” 18परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं। तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन्। ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन्। 19तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ, 20तर तिमीहरूले इन्कार गर्‍यौ र विद्रोह गर्‍यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको छ। 21विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ। 22तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ। 23तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन्। हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन्। तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन्। 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु। 25म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु। 26म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु। त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ।” 27सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ। 28विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन्। 29किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ। 30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ। 31बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन्। ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।