सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 14

यो अध्याय यसमा पर्छ: Over de volken

1परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ। उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ। परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन्। 2जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन्। तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन्। तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन्। 3त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ, 4तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो! 5परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ, 6जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो। 7सम्‍पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ। तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन्। 8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन्। तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन।' 9तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ। पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्‍ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्‍यसले मृतहरूलाई जगाउँछ। 10तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्‍नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस्। तँ पनि हामीजस्तै भएको छस्। 11तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ। तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,' 12ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्‍वर्गबाट तल झरेको छस्! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ! 13तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु। 14बादलहरूको उचाइभन्दा माथि म चड्‍नेछु। म आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु।' 15तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ। 16तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन्। तिनीहरूले सोध्‍नेछन्, 'के यो त्‍यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्‍यो, जसले राज्यहरूलाई हल्‍लायो, 17जसले संसारलाई उजाड-स्‍थानजस्‍तो बनायो, जसले सहरहरूलाई नष्‍ट पार्‍यो र आफ्‍ना कैदीहरूलाई घर जान दिएन?' 18जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन्। 19तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ। तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन्। 20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन। दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन।” 21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन्। 22“तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो। “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्‍ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो। 23“म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्‍नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो। 24सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्‍चय नै, जस्तो मैले इच्‍छा गरेको छु, त्यस्तै हुनेछ। अनि जे उद्देश्य मैले राखेको छु, त्‍यो पुरा हुनेछ। 25अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु। तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ।” 26सम्‍पूर्ण पृथ्वीको निम्ति इच्‍छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो। 27किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ। उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र? 28आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः 29ए सारा पलिश्‍तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ। किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ, र त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ। 30गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन्। तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ। 31ए ढोका करा। ए सहर चिच्या। हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ। किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन। 32जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।