सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 47

यो अध्याय यसमा पर्छ: Jozef

1तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌। हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌।” 2तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए। 3फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ।” 4त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ। कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन। त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस्।” 5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌। 6मिश्रदेश तिम्रै अगि छ। देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर। उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ।” 7तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए। 8फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?” 9याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू थोरै र दु:खमय भएका छन्। मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन।” 10त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्‍थितिबाट निस्‍केर गए। 11तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए। फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए। 12योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए। 13घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए। 14मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे। त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए। 15जब मिश्र र कनानमा भएका सबै आफ्‍ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्‍न दिनुहोस्‌। हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ?” 16योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु।” 17यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए। योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्‍तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए। त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न खुवाए। 18त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन्। अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ र जग्‍गाजमिनबाहेक अरू केही छैन। 19हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ। हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन्।” 20यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने। अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्‍ना जग्‍गाजमिन बेच्यो। यसरी जग्‍गाजमिन फारोको भयो। 21मिश्रको एक छेउदेखि अर्को छेउसम्‍मका सबै मानिसहरूलाई तिनले कमारा बनाए। 22पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो। फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे। त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेचेनन्। 23योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्‍ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर। 24तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ। चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ।” 25तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ। हजुरको निगाह हामीमाथि रहोस्‌। हामी फारोका कमारा हुनेछौँ।” 26यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ। पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन। 27त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे। तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए। तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो। 28याकूब मिश्रमा सत्र वर्ष बसे। यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो। 29जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्‍वासयोग्यता र भरोसा देखा। कृपा गरेर मलाई मिश्रदेशमा नगाड्‌। 30म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे।” योसेफले भने, “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु।” 31इस्राएलले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।