सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 41

यो अध्याय यसमा पर्छ: Jozef

1दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे। तिनी नील नदीको किनारमा उभिए। 2नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे। 3नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए। तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। 4त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए। अनि फारो ब्युँझे। 5तिनी फेरि सुते र अर्को सपना देखे। सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे। 6त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए। 7सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए। फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो। 8बिहान तिनको आत्मा बेचैन भयो। तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन। 9त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु। 10फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुभयो। 11तिनी र मैले एउटै रात सपना देख्यौँ। हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ। 12त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्‍तानको नोकर थियो। हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो। त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो। 13त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो। फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो।” 14त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए। तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए। तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए। 15फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन। तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु।” 16योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ।” 17फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ। 18नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे। 19नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए। मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ। 20त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए। 21तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे। त्यसपछि मेरो निद्रा खुल्यो। 22मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ। 23त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले। 24सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए। मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन।” 25योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन्। परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ। 26सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन्। सपनाहरू एउटै हुन्। 27तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन्। 28मैले फारोलाई बताएको कुरा यही नै हो। परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ। 29हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ। 30त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ। 31देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ। 32फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ। 33अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस्। 34फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन्। 35सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून्। तिनीहरूले यसको सञ्चय गर्नुपर्छ। 36मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ। यसरी अनिकालद्वारा देश सखाप हुनेछैन।” 37फारो र तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो। 38फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?” 39त्यसैले फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन। 40तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन्। सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु।” 41फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु।” 42फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए। तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए। 43फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए। मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, “घुँडा टेकेर झुक।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए। 44फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन।” 45फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए। तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए। योसेफ मिश्र देशभरि जान्थे। 46मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए। योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे। 47सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो। 48तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे। तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे। 49योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे। अन्‍न यति धेरै थियो कि तिनले हिसाब राख्‍नै छाडिदिए। 50अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए। 51योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्‍वरले मेरा र मेरा पिताका घरानाका सबै कष्‍ट बिर्सन लगाउनुभएको छ।” 52तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टलको देशमा मेरो फलिफाप गराउनुभएको छ।” 53मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो। 54योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो। सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो। 55सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर।” 56अनिकालले पुरै देशलाई ढाकेको थियो। योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे। मिश्र देशमा अनिकाल अति भयानक थियो। 57सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्‍न मिश्रमा आउँदै थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।