सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 42

यो अध्याय यसमा पर्छ: Jozef

1अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो। तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?” 2तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु। हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन।” 3योसेफका दस जना दाजु मिश्रमा अनाज किन्‍नका लागि गए। 4तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए। 5किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो। 6योसेफ मिश्रका अधिपति थिए। तिनले देशका सबै मानिसलाई अनाज बेच्थे। योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे। 7योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले। तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ।” 8योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन्। 9त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ। तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ।” 10तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर। तपाईंका दासहरू अनाज किन्‍न आएका हुन्। हामी सबै एउटै मानिसका छोराहरू हौँ। 11हामी इमानदार मानिसहरू हौँ। हामी तपाईंका दासहरू जासुस होइनौँ।” 12तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ।” 13तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ। हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन्।” 14योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ। 15यसैद्वारा तिमीहरूको जाँच हुनेछ। फारोको शपथ खाएर म भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ। 16तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ। तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ।” 17तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे। 18तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु। 19तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ। तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ। 20तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ।” त्यसैले तिनीहरूले त्यसै गरे। 21तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ। त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो।” 22रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ। अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ। 23योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो। 24तिनी तिनीहरूबाट एकातिर गई रोए। तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे। तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे। 25त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे। 26आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे। 27विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे। यो तिनको बोराको मुखैमा थियो। 28तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ। हेर त, यो त मेरै बोराभित्र छ।” तिनीहरूको हंसले ठाउँ छाड्यो। तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?” 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए। तिनीहरूले भने, 30“त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने। 31हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ। हामी जासुस होइनौँ। 32हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ। एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन्।' 33त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु। तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग। 34तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ। तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु। त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस'।” 35तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ। तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए। तिनीहरूका पिता 36याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ। योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ। यी सबै कुरा मेरो विरुद्धमा छन्।” 37रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ। तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु।” 38याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन। किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन्। तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।