सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 46

यो अध्याय यसमा पर्छ: Jozef

1इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्शेबा गए। त्यहाँ तिनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढाए। 2राती दर्शनमा परमेश्‍वर इस्राएलसँग यसो भन्दै बोल्‍नुभयो “याकूब, याकूब।” तिनले भने, “म यहीँ छु।” 3उहाँले भन्‍नुभयो, “म परमेश्‍वर हुँ, तेरा बुबाका परमेश्‍वर। मिश्रमा जान नडरा, किनकि त्‍यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु। 4म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्‍चय नै फेरि फर्काइ ल्‍याउनेछु, अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” 5त्‍यसपछि याकूब बेर्शेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्‍ना बुबा याकूब, आफ्‍ना बालबच्‍चा र आफ्‍ना परिवारहरूलाई फारोले तिनलाई ल्‍याउन पठाएका गाडाहरूमा चढाएर लगे। 6तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे। याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए। 7याकूबले आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे। 8मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन। 9रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी; 10शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल; 11लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी। 12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे)। फारेसका छोराहरू हेस्रोन र हामूल थिए। 13इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए। 14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए। 15यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌। लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए। 16गादका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए। 17आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह थिइन्‌। बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए। 18लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए। तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन्। 19याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए। 20ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए। 21बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए। 22राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए। यिनीहरू जम्‍मा चौध जना थिए। 23दानका छोरा हुशीम थिए। 24नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए। 25लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका सात जना छोरा यी नै थिए। 26याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना सन्‍तान जम्‍मा छयसट्ठी जना थिए। 27मिश्रमा जन्‍मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्‍मा सत्तरी जना थिए। 28गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए। 29योसेफले आफ्‍नो रथ तयार गर्न लगाए र गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए। योसेफले आफ्ना बुबालाई देखे, र बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए। 30इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस्।” 31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌। 32उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌। उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌।’ 33जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्‍दा के हो?’ भनी सोध्‍छन्, 34तब तपाईंहरूले यसो भन्‍नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍दै आएका छौँ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।