सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 26

यो अध्याय यसमा पर्छ: Isaak en Jakob

1अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो। इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। 2तिनीकहाँ देखा परेर परमप्रभुले भन्‍नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस्‌। 3यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु। 4तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष्‌ पाउनेछन्। 5अब्राहामले मेरो वचन पालन गरेको र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरेको हुनाले म यो गर्नेछु।” 6यसैकारण इसहाक गरारमा नै बसे। 7त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने। किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्‍त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन्।” 8इसहाक त्‍यहाँ बसेको धेरै दिनपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्न पुगे। इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए। 9अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन्। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान्‌ भन्‍ने मैले सोचें।” 10अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्‍याउने थियौ।” 11यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ।” 12इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्‍यही साल सय गुणा कटनी गरे। किनभने परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो। 13तिनी धनी भए, र अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए। 14तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो। यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे। 15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्‍तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए। 16त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हामीभन्दा ज्‍यादै शक्तिशाली छौ।” 17त्यसैले इसहाक त्‍यहाँबाट निस्‍केर गए अनि गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गरे। 18तिनले आफ्‍ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने। अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती रोकिदिएका थिए। अनि तिनले ती इनारहरूलाई आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए। 19इसहाकका नोकरहरूले बेँसीमा खन्‍दा बगिरहेको पानीको मूल भेट्टाए। 20तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो।” यसकारण इसहाकले त्‍यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे। 21तब तिनीहरूले अर्को इनार खने, र त्‍यसमा पनि तिनीहरूले झगडा गरे। यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे। 22तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्‍यसमा चाहिँ झगडा गरेनन्। यसकारण तिनले त्‍यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौँ।” 23त्‍यसपछि इसहाक बेर्शेबामा गए। 24परमप्रभु त्‍यही रात तिनीकहाँ देखा पर्नुभयो अनि भन्‍नुभयो, “म तेरो पिता अब्राहामका परमेश्‍वर हुँ। नडरा, किनभने म तँसँग छु र म तँलाई आशिष्‌ दिनेछु। अनि मेरो दास अब्राहामको खातिर म तेरा सन्‍तानको वृद्धि गराउनेछु।” 25इसहाकले त्‍यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे। तिनले आफ्‍नो पाल त्‍यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने। 26एक दिन अबीमेलेक आफ्‍ना मित्र अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए। 27इसहाकले तिनीहरूलाई भने, “घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्‍नुभयो, अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै 28हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्‍यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्‍छ। यसैले हाम्रा बिचमा, अर्थात्‌ तपाईं र हाम्रा बिचमा एउटा सम्‍झौता होस्‌ भन्‍ने हामीले निर्णय गर्‍यौँ, 29ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्‍यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ। त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन। तपाईं साँच्‍चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ।” 30त्यसैले इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए। 31तिनीहरू बिहान सबेरै उठे र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरूले उनलाई शान्‍तिमा छाडेर गए। 32त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ।” 33तिनले त्‍यस इनारको नाउँ शिबा राखे, यसकारण त्‍यस सहरको नाउँ आजसम्‍म पनि बेर्शेबा नै छ। 34चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए। 35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।