सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 40

यो अध्याय यसमा पर्छ: Jozef

1मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे। 2आफ्ना यी दुई अधिकार प्राप्‍त मुख्‍य पियाउने र पकाउनेसँग फारो क्रोधित भए। 3उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो। 4अङ्गरक्षकहरूका कप्‍तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए। तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे। 5ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए। 6योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे। 7उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?” 8तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस्।” 9मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने। तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो। 10त्यस दाखको बोटमा तिनवटा हाँगा थिए। जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्‍पाहरू पाके। 11फारोको कचौरा मेरो हातमा थियो। मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ।” 12योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ। तिनवटा हाँगा भनेको तिन दिन हो। 13तिन दिनभित्र फारोले तपाईंको शिर उच्‍च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ। तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ। 14तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस्। मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्। 15किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो। यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन।” 16जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ। रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए। 17सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए।” 18योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ। तिनवटा टोकरी भनेको तिन दिन हो। 19तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ। चराहरूले तपाईंको मासु खानेछन्।” 20त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो। तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे। आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए। 21तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए। 22तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए। 23मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।