सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 1

यो अध्याय यसमा पर्छ: Oergeschiedenis

1आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो। 2पृथ्वी निराकार र शून्य थियो। समुद्रको सतहमाथि अन्धकार थियो। परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। 3परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो। 4परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो। उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो। 5परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन। 6परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्।” 7परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो। तब त्यस्तै भयो। 8परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन। 9परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो। 10परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो। 11परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस्।” तब त्यस्तै भयो। 12पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो। 13साँझ पर्‍यो र बिहान भयो - तेस्रो दिन। 14परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन्। 15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन्।” तब त्यस्तै भयो। 16परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। 17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न 18परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो। 19साँझ पर्‍यो र बिहान भयो - चौथो दिन। 20परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून्।” 21परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो। 22परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ। पृथ्वीमा पक्षीहरू वृद्धि होऊन्।” 23साँझ पर्‍यो र बिहान भयो - पाँचौँ दिन। 24परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो। 25परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो। 26परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून्।” 27परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो। उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो। नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो। 28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख। समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” 29परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु। ती तिमीहरूका निम्ति आहारा हुनेछन्। 30पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु।” तब त्यस्तै भयो। 31परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो। त्यो ज्यादै असल थियो। साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।