सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 12

यो अध्याय यसमा पर्छ: Abraham

1परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा। 2म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस्। 3तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन्। 4यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए। हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए। 5अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे। तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे। 6अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए। त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे। 7परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए। 8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्‍चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे। त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे। 9अनि अब्राम यात्रा गर्दै नेगेवतिर गए। 10त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्‍नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो। 11तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु। 12मिश्रीहरूले तिमीलाई देख्‍दा 'यो यसकी पत्‍नी हो' भन्‍ने छन् र तिनीहरूले मलाई मार्ने छन्, तर तिनीहरूले तिमीलाईचाहिँ जीवितै राख्‍नेछन्। 13यसैले तिमी मेरी बहिनी हौ भनी तिमीले भन, ताकि तिम्रो खातिर मेरो भलो होस् र तिम्रो खातिर मेरो जीवन बाँचोस्। 14मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे। 15फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्‍त्रीलाई फारोको घरानामा लगियो। 16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए। 17अनि परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो। 18फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ? 19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ। यसकारण, तिम्रो पत्‍नी यहीँ छिन्। तिनलाई लेऊ र आफ्‍नो बाटो लाग। 20अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।