सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 31

यो अध्याय यसमा पर्छ: Isaak en Jakob

1याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन्।” 2याकूबले लाबानको व्यवहार देखे। याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे। 3तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु।” 4याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए, 5र तिनीहरूलाई भने, “मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु, तर मेरा पिताका परमेश्‍वर मसित हुनुभएको छ। 6मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको कुरा त तिमीहरूलाई थाहै छ। 7तिमीहरूका पिताले मलाई ठगेका छन्, र मेरो ज्याला दस पटक बद्लेका छन्, तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन। 8'थोप्ले जनावरहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सबै बगालले थोप्ले पाठा-पाठी नै जन्माए। 'पेटारेहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सारा बगालले पेटारे पाठा-पाठीहरू नै जन्माए। 9यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु मलाई दिनुभएको छ। 10एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ। बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए। 11सपनामा परमेश्‍वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु।' 12उहाँले भन्‍नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर्। तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु। 13म बेथेलको परमेश्‍वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस्। अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि'।” 14राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र? 15किनकि उहाँले हामीलाई बेच्नुभएको छ, र हाम्रो रुपियाँ-पैसा पूर्ण रूपमा सखाप पार्नुभएको छ। 16हाम्रा पिताबाट परमेश्‍वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन्। त्यसो भए, अब परमेश्‍वरले तपाईंलाई जे भन्‍नुभएको छ, सो गर्नुहोस्।” 17त्यसपछि याकूब उठे, र तिनले आफ्ना छोराहरू र पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे। 18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए। त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के। 19लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन्। 20अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे। 21आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे। 22याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो। 23त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे। लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए। 24राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो।” 25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए। गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे। 26लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको? 27किन तिमीले मलाई नबताईकन सुटुक्‍क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ। 28तिमीले मेरा नातिहरू र छोरीहरूलाई बिदाइको चुम्बन गर्ने अनुमति पनि दिएनौ। तिमीले मूर्खतापूर्वक काम गर्‍यौ। 29तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्‍वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो।' 30अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ। तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्‍यौ? 31याकूबले लाबानलाई जवाफ दिई भने, “तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले म डराएको थिएँ। त्यसैले म सुटुक्‍क भागेँ। 32तपाईंका घर-देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन। हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित छ भने चिनेर लैजानुहोस्।” राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन। 33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन्। तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे। 34राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन्। उनी तीमाथि बसेकी थिइन्। लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन्। 35उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला। म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन्। 36याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो? 37तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्‍नुभयो। के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? पाउनुभएको छ भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून्। 38बिस वर्षसम्म म तपाईंसँगै थिएँ। तपाईंका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहिएन, न त मैले तपाईंका बगालबाट भेडाहरू खाएँ। 39जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ। बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें। दिनमा चोरी भएर होस् वा रातमा चोरी भएर होस्, तपाईंले मलाई सधैँ हराएको हरेक पशुको मोल तिराउनुभयो। 40मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो। मलाई निद्रा लाग्दैनथ्यो। 41यी बिस वर्ष म तपाईंको घरमा रहेँ। तपाईंका दुई छोरीका लागि मैले चौध वर्ष तपाईंको सेवा गरेँ, र बगालको लागि छ वर्ष सेवा गरेँ। तपाईंले दस पटक मेरो ज्याला बद्लनुभएको छ। 42मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो। परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ। त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो।” 43लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन्। तिमीले देखेका यी सबै मेरै हुन्। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र? 44त्यसैले अब तिमी र मेरो बिचमा एउटा करार बाँधौँ अनि यही करार तिमी र मेरो बिचको गवाही होस्।” 45त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे। 46याकूबले आफ्ना आफन्तहरूलाई भने, “ढुङ्गाहरू जम्मा गर।” तिनीहरूले ढुङ्गाहरूको थुप्रो लगाए। त्यसपछि तिनीहरूले त्यही थुप्रोनेर खानपान गरे। 47लाबानले त्यसको नाउँ यगर-सहदूता राखे, तर याकूबले त्यसलाई गलेद भने। 48लाबानले भने, “आज यो थुप्रो तिमी र मेरो बिचमा गवाहीको रूपमा खडा छ। त्यसकारण यसको नाउँ गलेद राखियो। 49यसलाई मिस्पा पनि भनिन्छ किनभने लाबानले यसो भनेका थिए, “हामी एक-अर्काको दृष्‍टिबाट अलग हुँदा परमप्रभुले तिमी र मेरो हेरचाह गरून्। 50तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्‍यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्‍नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्‍वर तिम्रो र मेरो बिचमा गवाही हुनुहुन्छ।” 51लाबानले याकूबलाई भने, “तिम्रो र मेरो बिचमा मैले खडा गरेको यो थुप्रो र यो खामोलाई हेर। 52तिम्रो हानि गर्नलाई म यो पार गरेर तिमीकहाँ आउनेछैनँ र मेरो हानि गर्नलाई तिमी यो पार गरेर मकहाँ आउनेछैनौ भन्‍नाका लागि यो थुप्रो र यो खामो गवाहीको रूपमा खडा छन्। 53अब्राहामका परमेश्‍वर, नाहोरका परमेश्‍वर र तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून्। याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए। 54याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए। तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए। 55लाबान बिहान सबेरै उठे। तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए। त्यसपछि लाबान बिदा भई घर फर्के।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।