सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 43

यो अध्याय यसमा पर्छ: Jozef

1देशमा अति भयानक अनिकाल परेको थियो। 2तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ।” 3यहूदाले भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन्, 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ।' 4तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्‍न किन्‍नेछौँ। 5तर तपाईंले तिनलाई पठाउनुभएन भने हामी तल जाँदैनौँ। किनभने ती मानिसले हामीलाई भनेका छन् 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ'।” 6इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्‍ट ल्यायौ?” 7तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे। तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ। तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र? 8यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस्। तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ। 9म तिनको जमानी हुनेछु। तपाईंले मसित लेखा लिनुहुनेछ। मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने म सदाको लागि त्यसको दोषी हुनेछु। 10किनकि हामीले ढिला नगरेका भए निश्‍चय नै अहिलेसम्म त हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ।” 11तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर। तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल। ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम। 12तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ। तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ। सायद त्यो भुल थियो। 13तिमीहरूका भाइलाई पनि सँगै लैजाओ। उठेर फेरि ती मानिसकहाँ जाओ। 14सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु र बेन्यामीनलाई छुटकारा दिऊन्। मेरा सन्तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला।” 15ती मानिसहरूले उपहार, दुई गुणा रुपियाँ-पैसा र बेन्यामीनलाई लिए, र तिनीहरू उठेर मिश्रतर्फ झरे, अनि योसेफको सामु हाजिर भए। 16योसेफले तिनीहरूसँगै बेन्यामीनलाई देखेपछि तिनले आफ्नो घरको भण्डारेलाई भने, “ती मानिसहरूलाई घरभित्र ल्याओ, र एउटा पशु काटेर भोज तयार पार किनकि दिउँसो यी मानिसहरूले मसँगै खानेछन्।” 17त्यस भण्डारले योसेफले भनेजस्तो गर्‍यो। त्यसले ती मानिसहरूलाई योसेफको घरभित्र ल्यायो। 18ती मानिसहरू योसेफको घरमा लगिएकाले तिनीहरू डराए। तिनीहरूले भने, “पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो। तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन्। तिनले हामीलाई गिरफ्तार गरी दास बनाउन सक्छन्, हाम्रा गधाहरू लैजान सक्छन्।” 19तिनीहरू योसेफको घरको भण्डारेकहाँ गए, र घरको ढोकामा तिनीहरूले उसलाई भने, 20“हजुर, हामी पहिलो पटक अन्‍न किन्‍न आयौँ। 21हामी विश्राम स्थलमा पुग्यौँ, अनि बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो। त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए। हामीले ती हामीसँगै ल्याएका छौँ। अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ। 22हाम्रा रुपियाँ-पैसा हाम्रा बोराहरूमा कसले राखिदियो भनी हामीलाई थाहा छैन।” 23भण्डारेले भन्यो, “तपाईंहरूलाई शान्ति होस्। नडराउनुहोस्। तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ-पैसा हालिदिएको हुनुपर्छ। मैले तपाईंहरूको रुपियाँ-पैसा त पाएकै थिएँ।” त्यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो। 24भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो। त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए। त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो। 25तिनीहरूले दिउँसो योसेफको आगमनको लागि उपहारहरू तयार पारिराखे, किनकि तिनीहरूले त्यहाँ सँगसँगै खाने थिए भनी तिनीहरूले सुनेका थिए। 26योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए, र भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे। 27तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ? के तिनी अझै जीवितै छन्?” 28तिनीहरूले भने, “तपाईंका दास हाम्रा पिता सञ्चै हुनुहुन्छ। उहाँ अझै जीवितै हुनुहुन्छ।” तिनीहरू भुइँमा लमतन्‍न परेर तिनलाई ढोग गरे। 29तिनले आफ्ना आँखा उठाउँदा तिनले आफ्नी आमाका छोरा आफ्ना भाइ बेन्यामीनलाई देखेपछि तिनले भने, “तिमीहरूले मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन्?” त्यसपछि तिनले भने, “मेरा छोरा, तिमीमाथि परमेश्‍वर अनुग्रही हुनुभएको होस्!” 30योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए। तिनले रुने ठाउँ खोजे। तिनी आफ्नो कोठाभित्र पसी रोए। 31आफ्नो मुख धोई तिनी बाहिर आए। आफूलाई नियन्त्रण गर्दै तिनले भने, “खाना ल्याओ।” 32नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के। मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो। 33दाजुहरू योसेफका सामु बसे। तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका थिए। तिनीहरू सबै सँगसँगै छक्‍क परेका थिए। 34आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए। तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो। तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।