सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 28

यो अध्याय यसमा पर्छ: David

1दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे। 2तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस्। परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें। 3तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति तैंले मन्‍दिर बनाउनेछैनस्, किनभने तँ लडाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌।’ 4तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो। उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ। यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो। 5परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्‍ये इस्राएलमाथि परमप्रभुको राज्‍यको सिंहासनमा बस्‍न उहाँले मेरो छोरो सोलोमनलाई चुन्‍नुभयो। 6उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु। 7आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु।’ 8अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ। यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ। 9ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर। यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ। तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ। 10यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ। बलियो होऊ, र यो काम गर।” 11तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान र त्‍यसका भवन, भण्‍डारहरू, कौसीहरू, भित्री कोठाहरू र प्रायश्‍चित गर्ने कोठाका नक्‍शा दिए। 12तिनले परमप्रभुको मन्‍दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका भेटी राख्‍ने भण्‍डारहरूका निम्‍ति नक्‍शाहरू दिए। 13उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए। 14हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए, 15सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए। 16उपस्‍थितिको रोटीको हरेक टेबलको निम्‍ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए। 17तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए। तिनले हरेक सुन र चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए। 18तिनले धूप-वेदीको निम्‍ति पनि निखुर सुनको तौल तोकिदिए, अर्थात्‌ आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले सुनको तौल दिए। 19दाऊदले भने, “जसरी परमप्रभुले मलाई निर्देशन दिनुभयो र नक्साको समझ मलाई दिनुभयो त्‍यसरी नै मैले यी सबै कुराहरू लेखेको छु।” 20दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ। यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ। 21हेर, परमप्रभुको मन्‍दिरका सबै सेवा गर्न पुजारी र लेवीका दलहरू तयार छन्‌। तिम्रो काममा सहायता गर्न र सेवाको काम गर्नलाई तिनीहरू र खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन्। अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।