सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 16

यो अध्याय यसमा पर्छ: David

1तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे। तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए। 2दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। 3तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए। 4परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे। 5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो। 6बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो। 7तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे। 8परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर। 9उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर। 10उहाँको पवित्र नाउँमा गौरव गर। परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌। 11परमप्रभु र उहाँका शक्तिको खोजी गर। निरन्‍तर उहाँको उपस्‍थिति खोज। 12उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर, 13ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो। 14उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌। 15आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ। 16उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ। 17यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो। 18उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु।” 19तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए, 20तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए। 21उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो। 22उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” 23हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। 24जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर। 25किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ। 26किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो। 27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌। 28मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ। 29परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ। भेटी ल्‍याओ र उहाँको सामु आओ। पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर। 30हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो। संसार पनि स्थापित भएको छ। यसलाई हल्‍लाउन सकिंदैन। 31स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस्। तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ।” 32समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌। जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌। 33अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ। 34परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ। 35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं।” 36परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌। सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे।” 37यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे। 38ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए। यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए। 39सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो। 40परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो। यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो। 41तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ। 42पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए। यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे। 43तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।