सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 6

यो अध्याय यसमा पर्छ: Slavernij en bevrijding

1तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस्। मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस्। मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ।” 2परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ। 3म सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ। तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ। 4तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ। यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे। 5अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु। 6त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ। म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु। मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु। 7म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ। 8मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु। म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु। म परमप्रभु हुँ'।” 9मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन्। 10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे।” 12मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?” 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो। इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो। 14तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यिनै थिए। 15शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए। 16लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए। लेवी १३७ वर्षसम्म बाँचे। 17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए। 18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। कहात १३३ वर्षसम्म बाँचे। 19मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए। 20अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे। उनले मोशा र हारूनलाई जन्माइन्। अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे। 21यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए। 22उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए। 23हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे। तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्। 24कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै थिए। 25हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे। तिनीबाट उनले पीनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए। 26यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू।” 27इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने। यी तिनै मोशा र हारून थिए। 28परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा 29उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ। मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू।” 30तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।