सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 32

यो अध्याय यसमा पर्छ: Het gouden kalf

1जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलाइ गरेको देखे तिनीहरू हारूनको वरिपरि भेला भई तिनलाई भने, “हाम्रो अगिअगि जाने एउटा मूर्ति बनाऔँ। हामीलाई मिश्र देशबाट बाहिर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ।” 2त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ।” 3सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए। 4तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए। तब मानिसहरूले भने, “हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन्।” 5हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए र यस्तो घोषणा गरे, “भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ।” 6भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए। तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे। 7तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “चाँडै तल ओर्ली, किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन्। 8मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन्। तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् र बलिदान चढाएका छन्। तिनीहरूले भनेका छन् 'हे इस्राएल हो, मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन्'।” 9तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यो जातिलाई देखेको छु। हेर्, तिनीहरू हठी मानिसहरू हुन्। 10अब मलाई रोक्‍ने कोसिस नगर्। मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ। त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु। तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु।” 11तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे। तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने? 12मिश्रीहरूले किन यसो भन्‍ने, 'तिनीहरूलाई पर्वतमा लगेर मार्न र पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो?' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् र यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस्। 13तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु। तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्'।” 14तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो। 15तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले। शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए। 16ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो। 17यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त।” 18तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु।” 19जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे। तिनी बेसरी रिसाए। तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए। 20तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए, अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए। 21तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?” 22हारूनले भने, “मेरा मालिक, ममाथि हजुरको क्रोध नदन्कियोस्। तपाईं त यी मानिसहरूलाई जान्‍नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन्। 23तिनीहरूले मलाई भने, 'हाम्रो अगिअगि जाने एउटा देव बनाऊ। हामीलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ।' 24तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून्।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो।” 25मानिसहरू छाडा भइसकेका थिए भनी मोशाले देखे (किनकि हारूनले तिनीहरूका शत्रुहरूका सामु हाँसोको पात्र हुन दिएर तिनीहरूलाई अनियन्त्रित हुन छाडिदिएका थिए)। 26तब मोशा छाउनीको प्रवेशद्वारमा खडा भएर भने, “जो-जो परमप्रभुपट्टि छन्, तिनीहरू मकहाँ आओ।” सबै लेवी तिनको वरिपरि भेला भए। 27तिनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका-ढोकासम्म गएर हरेकले आफ्ना भाइ, आफ्ना मित्र र छिमेकीलाई मार'।” 28मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे। त्यस दिन करिब तिन हजार मानिस मरे। 29मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ।” 30भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ। अब म परमप्रभुकहाँ उक्लेर जानेछु। सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि।” 31मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन्। 32तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस्।” 33परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, म मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु। 34अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा। हेर्, मेरा दूत तेरो अगिअगि जानेछन्। तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु।” 35हारूनले बनाएको बाछोको कारण परमप्रभुले मानिसहरूमाथि विपत्ति ल्याउनुभयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।