सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 4

यो अध्याय यसमा पर्छ: Slavernij en bevrijding

1मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?” 2परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” मोशाले भने, “लट्ठी।” 3परमप्रभुले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो। मोशा दौडेर भागे। 4परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात पसारेर त्यसको पुच्छर समात्।” त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते। त्यो फेरि तिनको हातमा लट्ठी भयो। 5“तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ।” 6परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख्।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे। तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो। 7परमप्रभुले भन्‍नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख्।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो। 8परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्यान दिएनन् वा विश्‍वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्‍वास गर्नेछन्। 9तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या। तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ।” 10तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै। म बोल्न र जिब्रो चलाउनमा सुस्त छु।” 11परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र? 12त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु।” 13तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस्।” 14तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ। यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ। 15तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे। म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु। 16त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ। त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस्। 17तैँले तेरो हातमा यो लट्ठी लैजा। यसले तैँले चिन्हहरू गर्नेछस्।” 18त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस्।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ।” 19परमप्रभुले मिद्यानमा मोशालाई भन्‍नुभयो, “फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्नेहरू सबै मरिसकेका छन्।” 20आफ्नी पत्‍नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे। तिनी मिश्र देशमा फर्के र तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए। 21परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा। तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन। 22तैँले फारोलाई यसो भन्‍नू, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएल मेरो जेठो छोरो हो, 23र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस्।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु'।” 24अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो। 25त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन्। 26तब उनले भनिन्, “निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ।” त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो। यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्छ” भनी उनले भनिन्। 27परमप्रभुले हारूनलाई भन्‍नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा।” हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे। 28परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए। 29तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए। 30परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए। तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए। 31मानिसहरूले विश्‍वास गरे। परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।