सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 25

यो अध्याय यसमा पर्छ: Instructies voor de tabernakel

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन्। तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ। 3तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा 4निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला 5रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ, 6पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि 7आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू। 8म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन्। 9मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू। 10तिनीहरूले बबुल काठको सन्दुक बनाऊन्। यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस्। 11यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू। 12एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू। 13तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू। 14सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू। 15डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ। तिनलाई त्यसबाट झिकिनुहुँदैन। 16तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू। 17तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू। यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस्। 18तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू। 19प्रायश्‍चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू। ती दुईवटा करूब र प्रायश्‍चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस्। 20करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून्। करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून्। 21तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू। 22यही सन्दुकमा म तँसित भेट्नेछु। प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु। गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु। 23तैँले बबुल काठको एउटा टेबुल बनाउनू। यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस्। 24तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू। 25त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू। 26टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू। 27टेबुललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन्। 28टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र 29तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू। तैँले ती सबै निखुर सुनको बनाउनू। 30तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू। 31पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू। आधार र बिँडसहित यसलाई बनाउनू। यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ। 32यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन्। 33पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन्। त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन्। सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन्। 34सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन्। 35एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस्। त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस्। सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस्। 36तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन्। 37तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू। 38चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ। 39सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू। 40तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।