सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 10

यो अध्याय यसमा पर्छ: Slavernij en bevrijding

1परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु। तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ। 2मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ। यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस्।” 3त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे। 4तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु। 5कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन्। असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन्। खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन्। 6तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन्। यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्'।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए। 7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस्। मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?” 8मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए। फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ। तर जानेहरूचाहिँ को-को हुनेछन्?” 9मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ। हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ।” 10फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन्। हेर, तिमीहरूको मनमा कुनै दुष्‍टता छ। 11तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो। 12तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार्। असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून्।” 13मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो। बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो। 14सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे। त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन। 15पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके। असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए। मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो। 16त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, “मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु। 17अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ।” 18त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए। 19परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो। मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन। 20तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। 21त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस्।” 22मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो। 23कसैले कसैलाई देख्‍न सक्दैनथ्यो। तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन। तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो। 24फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर। तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड।” 25तर मोशाले भने, “हाम्रा परमप्रभु परमेश्‍वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ। 26हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ। तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ। किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन।” 27तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन्। 28फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ। अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ।” 29मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस्। म फेरि तपाईंको अनुहार हेर्नेछैनँ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।