सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 22

यो अध्याय यसमा पर्छ: Het verbond op de Sinaï

1कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस्। 2घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन। 3तर त्यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्यसलाई मार्ने व्यक्‍तिलाई हत्याको दोष लाग्‍नेछ। चोरले नोक्सानी भरिदिनुपर्छ। त्योसँग केही छैन भने त्यसको चोरीको लागि त्यसलाई बेचिनुपर्छ। 4चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ। 5कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ। 6आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ। 7कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्‍न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ। 8तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ। 9कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ। न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस्। 10कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने 11आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ। सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन। 12तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ। 13पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस्। टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन। 14कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ। 15तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन। पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ। 16कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ। 17केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ। 18तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू। 19पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ। 20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ। 21तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ। 22विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू। 23तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु। 24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु। तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन्। 25मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर। 26तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ। 27किनकि त्यसको ओढ्ने त्यही मात्र हो। यो त्यसको शरीरको लागि त्यसको खास्टो हो। योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु। 28परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप। 29तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर। तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ। 30त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर। सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ। 31तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ। त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू। बरु, त्यो कुकुरहरूलाई फालिदिनू।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।