सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 12

यो अध्याय यसमा पर्छ: Slavernij en bevrijding

1परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो। उहाँले भन्‍नुभयो, 2“तिमीहरूका लागि यो महिनाहरूको सुरु हुनेछ। यो महिना तिमीहरूका लागि वर्षको पहिलो महिन हुनेछ। 3इस्राएलको समुदायलाई भन्, 'यो महिनाको दसौँ दिनमा हरेक परिवारले हरेक घरानाको लागि एउटा-एउटा पाठो ल्याउनुपर्छ। 4एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा त्यो घराना र नजिकैको छिमेकी मिलेर एउटा थुमा वा पाठो ल्याउनुपर्छ जुन ती मानिसहरूको सङ्ख्याको लागि पर्याप्‍त हुनेछ। हरेकलाई खानको लागि यो पर्याप्‍त हुनेछ। 5त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ। तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ। तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू। 6तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्‍नुपर्छ। त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू। 7जुन-जुन घरमा त्यो मासु खाइन्छ, त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन्। 8त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू। तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू। 9काँचो वा पानीमा उमालेर नखाओ। बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ। 10बिहानसम्ममा कुनै पनि भाग नउबार्नू। बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू। 11पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू। तिमीहरूले हतारसँग खानुपर्छ। यो परमप्रभुको निस्तार-चाड हो। 12परमप्रभु भन्‍नुहुन्छः म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु। म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु। म परमप्रभु हुँ। 13म तिमीहरूकहाँ आउँदा रगत तिमीहरूको घरमा चिन्ह हुनेछ। मैले रगत देखेपछि मैले मिश्र देशमा आक्रमण गर्दा तिमीहरूलाई छाडिदिनेछु। यो विपत्तिले तिमीहरूलाई नाश गर्नेछैन। 14यो दिन तिमीहरूका लागि सम्झनाको दिन हुनेछ र यसलाई तिमीहरूले परमप्रभुको निम्ति चाडको रूपमा मान्‍नू। तिमीहरूको पुस्तौँसम्म रहिरहने विधिको रूपमा यसलाई तिमीहरूले सधैँ मान्‍नू। 15सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू। पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू। पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू। 16पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस्। यी दिनमा कुनै पनि काम गरिनेछैन। तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू। तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ। 17तिमीहरूले यो अखमिरी रोटीको चाड मान्‍नैपर्छ किनकि यही दिनमा नै मैले तिमीहरूका सशत्र मानिसहरूलाई दल-दल गरी मिश्र देशबाट ल्याएको हुनेछु। 18तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू। यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ। वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू। 19यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन। खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस्। 20खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू। तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू।” 21तब मोशाले इस्राएलका सबै धर्म-गुरुलाई बोलाउन पठाएर भने, “गएर आ-आफ्नो परिवारको लागि पर्याप्‍त हुने गरी थुमा वा पाठो छनौट गरेर त्यसलाई निस्तार-चाडको लागि मार। 22त्यसपछि हिसपको झुप्पा लिई भाँडोभित्र भएको रगतमा चोप। ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा त्यसलाई छ्याप्‍नू। बिहान नभएसम्म कोही पनि आफ्नो घरको ढोकाबाहिर नजानू। 23किनकि मिश्रीहरूलाई प्रहार गर्न परमप्रभु यो देश भएर जानुहुनेछ। जब उहाँले ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा रगत देख्‍नुहुनेछ तब उहाँले तिमीहरूको ढोकालाई छाडिदिनुहुनेछ र विनाश गर्नेलाई तिमीहरूलाई प्रहार गर्न तिमीहरूका घरहरूमा आउन अनुमति दिनुहुनेछैन। 24तिमीहरूले यस घटनालाई मान्‍नुपर्छ। यो तिमीहरू र तिमीहरूका सन्तानको लागि सदाको निम्ति एउटा विधि हुनेछ। 25परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले यो आराधनाको कामलाई मान्‍नू। 26तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा 27तिमीहरूले जवाफ दिनू, “यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो। उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो'।” त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे। 28इस्राएलीहरू गए र परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे। 29मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्‍ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो। 30फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे। मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन। 31रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ। तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ। 32तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ।” 33तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, “हामी सबै मर्नेछौँ।” 34त्यसैले मानिसहरूले खमिर नमिसाइएको मुछेको पिठोको डल्लो लिए। तिनीहरूका मुछ्ने आह्रीहरू पहिले तिनीहरूका लुगा र तिनीहरूका कुममा बाँधिएका थिए। 35अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे। तिनीहरूले मिश्रीहरूबाट चाँदी, सुनका वस्तुहरूसाथै लुगाहरू मागे। 36परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो। त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए। यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे। 37इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे। स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो। 38तिनीहरूका साथमा अन्य धेरै मानिस अनि गाईवस्तु र भेडा-बाख्रा पनि थिए। 39तिनीहरूले मिश्रबाट ल्याएका पिठोको डल्लोबाट अखमिरी रोटी बनाए। यो खमिरविनाको थियो किनकि तिनीहरू मिश्रबाट धपाइएका थिए र खाना तयार गर्न तिनीहरूको लागि समय थिएन। 40इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए। 41४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए। 42यो जागा रहनुपर्ने रात थियो किनकि परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट रातमा बाहिर निकालेर ल्याउनुभएको थियो। यो इस्राएलीहरूको पुस्तौँसम्म तिनीहरूले पालन गर्नुपर्ने परमप्रभुको रात थियो। 43परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “निस्तार-चाडको नियम यस्तो छः यसमा कुनै पनि परदेशीले भाग नलिओस्। 44तर दाम तिरेर किनिएको हरेक इस्राएली दासको खतना गरिएपछि त्यसले यो खान सक्छ। 45विदेशीहरू र भाडामा लिइएका नोकरहरूले यो खानाको कुनै पनि भाग नखानू। 46एउटै घरमा यसलाई खाइनुपर्छ। तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू र यसको कुनै पनि हड्‍डी नभाँच्नू। 47इस्राएलका सारा समुदायले यसको पालन गर्नू। 48कुनै परदेशी तिमीहरूका बिचमा बसेको छ र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ। त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ। त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ। तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन। 49स्वदेशी र तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ।” 50त्यसैले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ सबै इस्राएलीले त्यसै गरे। 51ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्‍त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।