सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 30

यो अध्याय यसमा पर्छ: Instructies voor de tabernakel

1तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू। 2यसको लमाइ एक हात र चौडाइ एक हातको होस्। यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ। यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन्। 3धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन्। यसको चारैतिर सुनको बिट लगाउनू। 4यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन्। 5डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू। 6तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्‍ने राख्‍नू। यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्‍चित्तको ढकनीको सामु हुनेछ। 7हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू। त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू, 8र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू। 9तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू। यसमाथि कुनै अर्घबलि नचढाउनू। 10वर्षको एक चोटि हारूनले यसका सिङहरूमा प्रायश्‍चित्त गरोस्। पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्‍चित्त गर्नेछ। यो परमप्रभुको निम्ति अति पवित्र छ।” 11तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 12“तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस्। तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस्। 13जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ)। यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ। 14बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ। 15मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्‍चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन्। 16तैँले इस्राएलीहरूबाट यो प्रायश्‍चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ। यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्‍चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस्।” 17तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 18“तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना। यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू। 19हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन्। 20तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ। 21तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन्। हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो।” 22तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 23“तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो, 24५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू। 25तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू। यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ। 26तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक, 27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी, 28होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू। 29ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू। तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ। 30हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर्। 31तैँले इस्राएलीहरूलाई भन्‍नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस्। 32यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो। तैँले यसलाई यसरी नै हेर्नुपर्छ। 33जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ।” 34परमप्रभुले मोशालाई भन्‍नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू। 35नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू। 36तैँले यसलाई मसिनो गरी पिस्‍नू। यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्‍ने राख्‍नू। तैँले यसलाई मेरो लागि अति पवित्र ठान्‍नू। 37तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू। यो मेरो लागि अति पवित्र होस्। 38अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।