सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 39

यो अध्याय यसमा पर्छ: De tabernakel gebouwd

1तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए। परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए। 2बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए। 3तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए। ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो। 4तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए। 5यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो। यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो। 6तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे। 7परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए। 8तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो। तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए। 9यो वर्गाकार थियो। तिनीहरूले यसलाई दोब्बर पट्ट्याए। यो एक बित्ता लामो र एक बित्ता चौडा थियो। 10तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे। पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो। 11दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो। 12तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो। 13चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो। ती सुनका मणिघरहरूमा जडिएका थिए। 14ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए। छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो। 15तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए। 16तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए। 17तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए। 18तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे। त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए। 19तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए। 20तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए। 21तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस्। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए। 22बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए। यो जुलाहाको काम थियो। 23यसको बिचमा टाउको छिराउने प्वाल थियो। नच्यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो। 24तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए। 25तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए। 26तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे। 27तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए। 28तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू, 29सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए। यो बुट्टा भर्नेको काम थियो। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे। 30तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए। 31तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे। तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे। 32यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो। इस्राएलका मानिसहरूले सबै कुरा गरे। परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए। 33तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो 34रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा, 35गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए। 36तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी, 37निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल, 38सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा, 39काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए। 40तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए। 41तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए। 42यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे। 43मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए। परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे। तब मोशाले तिनीहरूलाई आशिष् दिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।