सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 43

यो अध्याय यसमा पर्छ: De nieuwe tempel

1त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे। 2हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो। उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो। 3त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें। 4यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्‍दिरभित्र आयो। 5तब आत्माले मलाई उचाल्‍नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो। हेर, परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो। 6ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्‍दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें। 7उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु। इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्‍वासहीनता वा उच्‍च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन्। 8तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गरें। 9अब तिनीहरूले आफ्ना विश्‍वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु। 10ए मानिसको छोरो, यस मन्‍दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्‍नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून्। तिनीहरूले यो वर्णनमाथि विचार गरून्। 11तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू। अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून्। 12मन्‍दिरको नियम यही हो: पहाडको टुप्पोदेखि त्यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ। हेर, मन्‍दिरको नियम यही नै हो। 13वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ। वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ। त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ। योचाहिं वेदीको आधार हो। 14भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ। अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ। 15होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन्। 16अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ। 17त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ। नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ।” 18त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन्। 19सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 20तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू। 21अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू। 22अनि दोस्रो दिनमा तैंले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु। पुजारीहरूले साँढेले वेदीलाई शुद्ध गरेजस्तै वेदीलाई शुद्ध गर्नेछन्। 23त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु। 24ती परमप्रभुको अगि चढाउनु। पुजारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन्। 25सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून्। 26तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून्। यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ। 27तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ, र आठौं दिन र त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्‍वर घोषणा हो।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।