सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 11

यो अध्याय यसमा पर्छ: Oordeel over Jeruzalem

1तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए। तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें। 2परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने मानिसहरू यी नै हुन्। 3तिनीहरू भन्‍दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन। यो सहर भाँडो हो र हामीहरू मासु हौं।’ 4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर। ए मानिसको छोरो, अगमवाणी गर।” 5तब परमप्रभुका आत्‍मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयोः “परमप्रभु यसो भन्‍नुहुन्‍छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ। किनकि तिमीहरूका मनमा के आउँछ भन्‍ने मलाई थाहा छ। 6तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्‍यालाई वद्धि गरेका छौ, र यसका गल्‍लीहरू तिनीहरूले भरेका छौ। 7यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो। तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ। 8तिमीहरू तरवारदेखि डराएका छौ। यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु। यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 9म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु। 10तिमीहरू तरवारले ढल्‍नेछौ। इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु। यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ। 11यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्‍यसको बिचमा तिमीहरू मासु नै हुनेछौ। तिमीहरूको न्‍याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु। 12तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ। बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ।” 13जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे। तब म घोप्‍टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?” 14त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 15“ए मानिसको छोरो, तेरा दाजुभाइ! तेरा दाजुभाइ! जो तेरा कुलका र इस्राएलका सारा घराना! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन्‌। यो देश हामीलाई अधिकार गर्न दिइएको थियो।’ 16यसकारण यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको पवित्रस्‍थान भएको छु।’ 17यसकारण भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूलाई म मानिसहरूबाट जम्‍मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु।’ 18तब तिनीहरू त्‍यहाँ जानेछन्‌ र त्‍यो ठाउँबाट हरेक घृणित र घिनलाग्‍दा कुराहरू हटाउनेछन्‌। 19म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्‍मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु, 20ताकि तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन्। तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु। 21तर आफ्‍ना घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो।” 22ती करूबहरूले आफ्‍ना पखेटा र आफ्‍ना छेउमा भएका पाङ्‌ग्राहरू माथि उचाले र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका माथि थियो। 23तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो। 24आत्‍माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा कल्‍दीमा निर्वासित भएकाहरूकहाँ ल्‍याउनुभयो। तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो। 25तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।