सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 22

यो अध्याय यसमा पर्छ: Oordeel over Jeruzalem

1तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 2“अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे। 3तैंले यसको भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो। आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो। 4तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌। तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ। यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु। 5तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस्। 6हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन्। 7तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन्। तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌। 8मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌। 9रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन्‌। तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्‌। 10तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌। तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन्। 11आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन्। 12तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 13हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु। 14मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु। 15यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु। यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु। 16यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस्। तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌'।” 17त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो, 18“ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्‍ति थेग्रो भएको छ। ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्‍ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन्‌। तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन्। 19यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्‍ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्‍मा गर्न लागेको छु। 20जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्‍तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्‍मा गर्छन्, त्‍यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र म तिमीहरूलाई त्‍यहाँ हाल्‍नेछु र तिमीहरूलाई गाल्‍नेछु। 21म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ। 22जसरी भट्टीमा चाँदी गल्‍छ, र तिमीहरू त्‍यसभित्र गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ'।” 23परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 24“ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस्। क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन। 25गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन्। तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन्। त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌। 26त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु। 27त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌। तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌। 28त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन्। तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन। 29देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन्। 30यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ। 31त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु। मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो।"'

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।