सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 39

यो अध्याय यसमा पर्छ: Herstel

1“अब, ए मानिसको छोरो, गोगको विरुद्ध अगमवाणी गर् र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको मुखिया गोग, म तेरो विरुद्धमा छु। 2तँलाई म फर्काउनेछु र तँलाई लानेछु। टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्‍याउनेछु। 3तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्‍नेछु। 4तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन्। तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु। 5यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैंले यो घोषणा गर्छु। 6तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्। 7किनकि मेरा मानिस, अर्थात् इस्राएलका बिचमा आफ्‍नो पवित्र नाउँलाई चिनाउनेछु, र मेरो पवित्र नाउँलाई फेरि म अशुद्ध हुन दिनेछैन। जातिहरूले म नै परमप्रभु, इस्राएलमा परम पवित्र हो भनी जान्‍नेछन्। 8हेर्, त्यो दिन आउँदैछ, र त्‍यो हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 9इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर जानेछन् र तिनीहरूले आगो सल्काउन र ती बाल्नको निम्ति हतियारहरू अर्थात् साना ढालहरू र ठुला ढालहरू, धनुहरू, काँडहरू, लाठीहरू र भालाहरू प्रयोग गर्नेछन्। तिनीहरूले सात वर्षसम्म यिनैले आगो बाल्नेछन्। 10तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन्। तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन्। तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो।” 11त्‍यसपछि त्यो दिन यस्तो हुनेछ। गोगको निम्ति इस्राएलमा म एउटा चिहान तयार गर्नेछु जुनचाहिं समुद्रको पुर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेसी हो। त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्‍नेछ। त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन्। तिनीहरूले त्यसलाई हामोन-गोगको बेसी नामाकरण गर्नेछन्। 12किनकि देशलाई शुद्ध गर्नलाई इस्राएलको घरानाले तिनीहरूलाई सात महिनासम्म गाड्नेछन्। 13देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 14अनि तिनीहरूले मानिसहरूलाई निरन्तर त्यो देशबाट जानको निम्ति नियुक्त गर्नेछन्। तिनीहरूले त्यहाँबाट भएर जानेहरूको खोजी गर्नेछन्। भूमिलाई शुद्ध गर्नलाई तिनीहरूले त्यहाँ मरेका र त्यो देशमा रहेका लासहरूलाई खोजी गरेर गाड्नेछन्। सातौं महिनाको अन्त्यमा तिनीहरूले आफ्नो खोजी सुरु गर्नेछन्। 15यी मानिसहरू ती देशबाट हिंड्दा, जब तिनीहरूले मानिसको हाड देख्‍छन्, तब चिहान खन्‍नेहरू आएर त्यसलाई हामोन-गोगको बेसीमा लगेर नगाडेसम्‍मलाई त्यहाँ तिनीहरूले एउटा चिन्ह राख्‍नेछन्। 16त्यहाँ हामोनाहको नाउँमा एउटा सहर हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्। 17ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ। मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ। 18तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ। ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन्। 19तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ। नमातेसम्म तिमीहरूले रगत पिउनेछौ। तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ। 20तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्‍त हुनेछौ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो।’ 21जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्‍नेछन्। 22त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्। 23जातिहरूले यो जान्‍नेछन्, कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए। यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ र तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ, ताकि तिनीहरू सबै तरवारले मारिए। 24जब मैले आफ्‍नो मुहार तिनीहरूबाट लुकाएँ, तब मैले तिनीहरूकै अशुद्धता र पापअनुसार तिनीहरूसँग व्यवहार गरें। 25यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब म आफ्‍नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा म याकूबको सुदिन फर्काउनेछु, र इस्राएलका सारा घरानामाथि दया देखाउनेछु। 26तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्‍नेछन्। तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन्। त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन। 27जब मानिसहरूबाट म तिनीहरूलाई पुनःस्‍थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैंलाई पवित्र देखाउनेछु। 28तब म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु। तिमध्ये कसैलाई पनि म जातिहरूका बिचमा छोड्नेछैन। 29इस्राएलको घरानामा मैले आफ्‍नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।