सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 7

यो अध्याय यसमा पर्छ: Oordeel over Juda en Jeruzalem

1परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो, 2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर्। यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन। 3सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु। 4छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!' 5किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने, 6तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने, 7म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ। 8हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन्। 9के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ? 10त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ? 11के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो।’ 12‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर। 13त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ। 14त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ। 15जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु।” 16“ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ। 17यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस्? 18छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन्। तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन्। 19के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् त? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र? 20त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ। यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन।” 21इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ। 22किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन। होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ। 23मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ। त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड।” 24तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए। तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए। त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन्। 25तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु। मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ। 26तर तिनीहरूले मेरो कुरा सुनेनन्। तिनीहरूले ध्यानै दिएनन्। बरु, तिनीहरू अटेरी भए। आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए।’ 27त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्‍नेछैनन्। तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन्। 28तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्‍वरको आवाज नसुन्‍ने र अनुशासन पालन नगर्ने जाति हो। सत्यता नष्‍ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ। 29आफ्नो कपाल काट र आफूलाई खौरी। खुला ठाउँहरूमा मृत्‍यु संस्‍कारको गीत गा। किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्‍नुभएको छ। 30किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो। मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन्। 31अनि बेन-हिन्‍नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए। तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्‍यो बनाए। यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो। 32यसैले हेर, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभुको घोषणा हो, त्‍यसबेला त्‍यो फेरि तोपेत वा हिन्‍नोमको बेँसी भनिने छैनन्। त्‍यो हत्याको बेँसी भनिनेछ। तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन्। 33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन। 34यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।