सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 2

यो अध्याय यसमा पर्छ: Oordeel over Juda en Jeruzalem

1परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, 2“जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर्। यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु। 3परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो। अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए। तिनीहरूमाथि विपत्ति आइपर्‍यो, यो परमप्रभुको घोषणा हो '।” 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन। 5परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए। 6तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ? 7तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ। तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ। तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ। 8पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन्। गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे। अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे। 9त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु। 10किनकि कित्तीमका किनारहरू पार गर र हेर। केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर। 11के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन्। तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन्। 12यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो। 13किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन्। 14के इस्राएल दास हो? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो? त्यसो भए, त्यो किन लुटको माल भएको छ त? 15जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे। तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन्। त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन्। 16साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन्। 17परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र? 18त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ? 19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ। त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो। 20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ। मैले तेरा बन्धनहरू फुकाइदिएँ। तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस्। 21मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ। तब तैंले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस्? 22तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 23'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस्? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर्। तैंले गरेको कुरालाई विचार गर्। तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो, 24तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन। मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन्। 25तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ। तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु।' 26चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ। तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन्। 27यी तिनै हुन् जसले रुखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ'। किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्‍ना अनुहार होइन। तापनि सङ्कष्‍टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!' 28तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन्। 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो। 30मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु। तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन्। तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ। 31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ। के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'? 32के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ। 33प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस्? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस्। 34तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ। यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन्। 35तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु। निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु। 36तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस्? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ। 37आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ। त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।