सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 30

यो अध्याय यसमा पर्छ: Boek van de troost

1परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख्। 3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो। म परमप्रभुले नै यो भनेको हुँ। किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन्।” 4इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्, 5“किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन। 6पुरुषले बच्‍चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर। किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्‍त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त? 7हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ। त्यस्तो अरू कुनै दिन हुनेछैन। यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ। 8यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन्। 9तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु। 10यो परमप्रभुको घोषणा हो, त्‍यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो। किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु। याकूब फर्कनेछ, र शान्तिमा रहनेछ। ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन। 11किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो। तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु। तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ।' 12किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन। तेरो चोट सङ्क्रमित भएको छ। 13तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन। तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन। 14तेरा सबै प्रेमीले तँलाई भुलेका छन्। तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु। 15तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन। तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ। 16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन्। किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु। 17किनकि म तँलाई स्वास्थ्य बनाउनेछु। म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु। यस सियोनको लागि कसैले वास्ता गर्दैन।” 18परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु। त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ। 19तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन। तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु। 20त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु। 21तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ। मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट ऊ आउनेछ। मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र? यो परमप्रभुको घोषणा हो। 22तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु। 23हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ। यो आइरहने आँधी हो। यसले दुष्‍ट मानिसहरूका शिरमा चक्‍कर लगाउनेछ। 24आफ्नो मनका उद्धेश्यहरू पुरा नहुञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन। आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।