सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 29

यो अध्याय यसमा पर्छ: Botsing met andere profeten

1निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन्। 2राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो। 3तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए। 4मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु, 5'घरहरू बनाओ र तिनमा बस। बारीहरूमा बीउ रोप र तिनको फल खाओ। 6बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ। त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ। तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन। 7मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ।' 8किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान। 9किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन्। मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो।' 10किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु। 11किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन्। 12तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु। 13किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ। 14तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु। मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु।' 15परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले, 16दाऊदको सिंहासनमा बस्‍ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्— 17हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ। किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌। 18त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु। 19तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो। मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो।' 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन। 21'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु। उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ। 22त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ। सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए। 23तिनीहरूले आफ्ना छिमेकीहरूका पत्‍नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्‍नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्‍जित कुराहरूका कारणले यस्‍तो हुनेछ। किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो। 24नेहेलामवासी शमायाह बारेमा यसो भन्, 25“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्, 26'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ। तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ। तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू। 27त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ? 28किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ। घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ'।” 29यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे। 30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 31“सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्‍वास गर्न डोर्‍याएको छ, 32त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः नेहेलामवासी शमायाह र त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु। यस जातिको बिचमा बस्‍न त्यसको लागि कुनै मानिस हुनेछैन। मैले आफ्‍ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्‍नेछैन, यो परमप्रभुको घोषणा हो, किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको छ'।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।