सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 52

यो अध्याय यसमा पर्छ: Historisch slot

1सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। उनी लिब्नाका यर्मियाकी छोरी थिइन्। 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे। यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे। 3परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे। तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे। 4राजा सिदकियाहको शासनकालको नवौं वर्षको दसौं महिनाको दसौं दिनमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्ना सबै सेनासँगै आए। तिनीहरूले यसको सामु छाउनी हाले, र तिनीहरूले यसको चारैतिर घेराबन्दी गरे। 5यसरी राजा सिदकियाहको शासनकालको एघारौं वर्षसम्म सहरलाई घेराबन्दी गरियो। 6चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन। 7तब सहरको पर्खाल भत्काइयो, र कल्दीहरू सहरको चारैतिर भए तापनि सहरको पर्खाललाई भत्काएर सबै योद्धा रातमा राजाको बगैंचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटो भएर भागे। तिनीहरू अराबाको दिशातिर गए। 8तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए। तिनका सबै सेना तिनीबाट तितर-बितर भए। 9तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए। 10बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे। 11तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए। तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे। 12अब बेबिलोनका राजा नबूकदनेसरको राज्‍य सुरु गरेको उन्‍नाइसौं वर्षको पाँचौं महिनाको दसौं दिनमा नबूजरदान यरूशलेममा आए। तिनी राजाका अङ्गरक्षकहरूका कमान्‍डर अनि बेबिलोनका राजाका सेवक थिए। 13तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए। अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए। 14यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे। 15सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे। 16तर अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले दाखबारी र खेतहरूमा काम गर्न देशका सबैभन्दा गरिबहरूलाई त्यहीं छोडे। 17परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे। 18भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले तीसबै लगे। 19राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे। 20सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो। 21स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो। प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो। 22स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो। स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो। 23स्तम्भ-शिरका छेउ-छेउमा छयानब्‍बेवटा दारिम थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सयवटा थिए। 24अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए। 25तिनले सिपाहीहरूको जिम्मामा भएका अधिकारी, सहरमा अझै बाँकी रहेका राजाका सात जना सल्लाहकारलाई सहरबाट कैद गरेर लगे। तिनले देशका मानिसहरूलाई सेनाम भर्ती गर्ने मुख्य अधिकारी र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि कैद गरेर लगे। 26तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे। 27बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो। 28नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदी। 29नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे। 30नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे। निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए। 31यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैंतिसौं वर्षको बाह्रौं महिनाको पच्‍चिसौं दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे। एबील-मरोदकले राज्‍य सुरु गरेको वर्षमा यसो गरियो। 32राजाले तिनीसित दयापूर्वक बोले, र बेबिलोनमा तिनीसित भएका अन्य राजाहरूलाई भन्दा तिनलाई प्रतिष्ठित स्थान दिए। 33एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे, 34र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।