सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 44

यो अध्याय यसमा पर्छ: De val van Jeruzalem

1मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ। हेर, आज ती भग्‍नावशेष भएका छन्। तिनमा बस्‍ने कोही छैन। 3धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो। यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे।' 4त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ। मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड।’ 5तर तिनीहरूले सुनेनन्। अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे। 6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो। ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ।' 7त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ। 8तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ। तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ। 9तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ? 10आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन्। मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन्।' 11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु। 12किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु। तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु। तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन्। सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्। तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन्। 13जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु, 14जसको कारणले मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्‍ने तिनीहरूको इच्छा छ। अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन'।” 15तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए, 16तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं। 17किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं। तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ। 18हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ।” 19स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र?” 20तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने, 21“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ। यो उहाँको विचारमा आउँछ। 22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन। तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन। 23तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ।” 24तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। 25सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ। अब तिमीहरूका भाकलहरू पुरा गर। तिनलाई निरन्‍तर गर।’ 26त्यसैले मिश्रदेशमा बस्‍ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्‍छ। सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन्।” 27हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु। मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ। 28तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन्। तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन्। 29यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस्। 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु। यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ।’”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।