सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 50

यो अध्याय यसमा पर्छ: Uitspraken over de volken

1यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो, 2“जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्‍न लगा। सङ्केत उठा र तिनीहरूलाई सुन्‍न लगा। यसलाई नलुका। यसो भन्, 'बेबिलोनलाई लिइएको छ। बेललाई लाजमा पारिएको छ। मरोदक हताश भएको छ। यसका मूर्तिहरू लाजमा पारिएका छन्। यसका प्रतिमाहरू हताश पारिएका छन्।' 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ। यसमा कोही बस्‍ने छैन। मानिस र पशु दुवै भाग्‍नेछन्। 4यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन्। 5तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं।” 6मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन्। तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन्। तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से। 7तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले। तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्‍ना साँचो घर, आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे।' 8बेबिलोनको बिचबाट निस्केर आओ। कल्दीहरूको देशबाट बाहिर जाओ। बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्‍छन्। 9किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु। तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन्। त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ। तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन्। 10कल्दी लुटको माल बन्‍नेछ। यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो। 11तँ रमाउँछस्। मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस्। खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस्। शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस्। 12त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे। तँलाई जन्म दिने शर्ममा पर्नेछे। हेर, त्‍यो जातिहरूका बिचमा नीच हुनेछे। त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे। 13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ। बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन्। 14बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर। धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ। आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ। 15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार। त्यसले आत्मसमर्पण गरेको छ। त्यसका धरहराहरू ढलेका छन्। त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो। त्यसमाथि बदला लेओ। त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर। 16बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार। अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस्। तिनीहरू आफ्नै देशमा फर्कून्। 17इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो। पहिले अश्शूरका राजाले त्यसलाई खायो। त्यसपछि बेबिलोनका राजाले त्यसका हड्‍डीहरू भाँचिदियो। 18त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ। 19इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु। ऊ कर्मेल र बाशानमा चर्नेछ। त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्‍ट हुनेछ। 20परमप्रभु भन्‍नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन। यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु।” 21“मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ। यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर। 22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ। 23सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन्। जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्‍ट गरिएको ठाउँ भएको छ। 24ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्‍यसको बारेमा थाहा नै भएन। तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस्। 25परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ। कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम छ। 26टाढाबाट त्यसलाई आक्रमण गर। त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार। त्यसलाई विनाशको लागि अलग गर। त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड। 27त्यसका सबै साँढेहरूलाई मार। तिनीहरूलाई काटिने ठाउँमा पठाओ। तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ। 28बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ। यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन्।” 29“बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ। त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस्। त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ। त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर। किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो। 30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो।” 31“हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु। 32त्यसैले अहङ्कारीहरू ठक्‍कर खानेछन् र ढल्‍नेछन्। कसैले तिनीहरूलाई उठाउनेछैन। म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु। त्‍यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ। 33सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ। तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन्। तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन्। 34तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो। देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ। 35यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्‍यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ। 36व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ। तिनीहरू मूर्ख हुनेछन्। त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ। तिनीहरू त्रासले भरिनेछन्। 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन्। त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन्। 38त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्‍नेछन्। किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन्। 39स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्‍नेछन्, र अस्ट्रिचका बच्‍चाहरू त्यहाँ बस्‍नेछन्। किनकि त्यसमा फेरि कहिल्यै बासिन्‍दा बस्‍नेछैनन्। पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्‍नेछैन। 40जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो।” 41“हेर, उत्तरबाट एउटा जाति आउँदैछ। पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ। 42तिनीहरूले धनु र भालाहरू उठाउनेछन्। तिनीहरू क्रुर छन् र दया देखाउँदैनन्। ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन्। 43बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्‍कै गले। प्रसव-वेदनामा परेकी स्‍त्रीझैं वेदनाले त्यसलाई समात्यो। 44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ। किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु। किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ? 45त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन। निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन्। तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन्। 46बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।