सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 33

यो अध्याय यसमा पर्छ: Aan de grens

1मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो। 2परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे। तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए। 3तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे। निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे। 4मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो। 5इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए। 6तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले। 7तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले। 8त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे। तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले। 9तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे। एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए। तिनीहरूले त्यहीँ नै छाउनी हाले। 10तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले। 11तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले। 12तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले। 13तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले। 14तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन। 15तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले। 16तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले। 17तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले। 18तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले। 19तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले। 20तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले। 21तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले। 22तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले। 23तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले। 24तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले। 25तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले। 26तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले। 27तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले। 28तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले। 29तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले। 30तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले। 31तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले। 32तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले। 33तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले। 34तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले। 35तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले। 36तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले। 37तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले। 38हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो। 39हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए। 40कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने। 41तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले। 42तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले। 43तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले। 44तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले। 45तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले। 46तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले। 47तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले। 48तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले। 49तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले। 50परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो, 51“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ। 52तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ। तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ। 53तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु। 54तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ। ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ। कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ। तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ 55तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन्। तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन्। 56त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।