सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 22

यो अध्याय यसमा पर्छ: Aan de grens

1इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे। 2सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए। 3मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो। 4मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन्।” यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए। 5तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए। तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ। तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन्। 6त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन्। सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु। तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ।” 7त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए। तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने। 8बालामले तिनीहरूलाई भने, “आज राती यहाँ बस्‍नुहोस्। परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु।” त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे। 9परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन्?” 10बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन्। तिनले भने, 11“हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन्। अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस्। सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु।” 12परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो, “तँ तिनीहरूसँग जानुहुँदैन। तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन्।” 13बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, “तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ।” 14त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए। तिनीहरूले भने, “बालामले हामीसँग आउन इन्कार गरे।” 15बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्‍ठित अगुवाहरूलाई फेरि पठाए। 16तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्, 17किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु। त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्'।” 18बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ। 19कृपया आज राती पनि यहीँ पर्खनुहोस्, ताकि परमप्रभुले मलाई के भन्‍नुहुन्छ सो म जान्‍न सकूँ।” 20परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा। तर मैले भनेको कुरा मात्र गर्।” 21बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए। 22तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो। परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए। बालामका दुई जना नोकर तिनीसँगै थिए। 23गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो। गधा बाटोबाट तर्किएर खेततिर लाग्यो। बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे। 24त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए। 25गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो। त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो। बालामले त्यसलाई फेरि पनि पिटे। 26त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन। 27गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो। बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे। 28त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो। त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?” 29बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस्। मेरो हातमा तरवार भएको भए हुन्थ्यो। यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ।” 30गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र?” बालामले जवाफ दिए, “थिएन।” 31तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे। बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए। 32परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस्? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन्। 33गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो। यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ।” 34बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ। त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु।” 35तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए। 36जब बालाम आएका थिए भन्‍ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ। 37बालाकले बालामलाई भने, “के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र? तपाईं मकहाँ किन आउनुभएन? के म तपाईंलाई आदर गर्न सक्षम छैन र?” 38त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु। के मसँग कुनै कुरा भन्‍ने शक्ति छ र? मैले त परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु।” 39बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे। 40त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए। 41बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे। त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।