सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 23

यो अध्याय यसमा पर्छ: Aan de grens

1बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस्। 2बालाकले बालामले भनेजस्तै गरे। अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए। 3अनि बालामले बालाकलाई भने, “तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु। सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ। उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु।” त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए। 4तिनी पहाडको टुप्पोमा हुँदा परमेश्‍वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु।” 5परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन्।” 6त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्‍नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए। 7बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन्। तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस्।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस्।' 8परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु? 9म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु। हेर्नुहोस्, एक्लै बस्‍ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन्। 10याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस्!” 11बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो।” 12बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र?” 13बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ। तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन। तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ।” 14त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए। तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए। 15त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु।” 16त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो। तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे।” 17बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए। अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्‍नुभयो?” 18बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन्। हे सिप्पोरका छोरा मेरो कुरा सुन्। 19परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस्। के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र? 20हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ। परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ। 21उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन। परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ। 22परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो। 23याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन। बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ!' 24हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन्। त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन।” 25त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस्।” 26तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ र?” 27त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु। सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ।” 28त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ। 29बालामले बालाकलाई भने, “यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे र भेडा तयार पार्नुहोस्।” 30बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।