सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 4

यो अध्याय यसमा पर्छ: Begin van Jezus' optreden

1त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो। 2चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो। 3परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस्।” 4तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’।” 5त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो, 6अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’।” 7येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’।” 8फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो। 9त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” 10त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’।” 11अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे। 12अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो। 13उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो। 14यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो, 15“गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि! 16अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ।” 17त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” 18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए। 19येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु।” 20तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे। 21जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो। उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए। उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए। उहाँले तिनीहरूलाई बोलाउनुभयो, 22र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे। 23येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो। 24उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए। 25गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।