सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 21

यो अध्याय यसमा पर्छ: Op weg naar Jeruzalem

1जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो, 2र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ। तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ। 3यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्।” 4अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो। उहाँले भन्‍नुभयो, 5“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ।’” 6तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे। 7तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो। 8भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए। 9येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!” 10जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?” 11भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता।” 12त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो। उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो। 13उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ।” 14तब दृष्‍टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। 15तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए। 16तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्‍न सक्छौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?” 17त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो। 18बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो। 19उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन। उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस्।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो। 20जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?” 21येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ। 22तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।” 23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?” 24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु। यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु। 25यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर भन्‍नेछन्। 26तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे।” 27तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ। 28तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए। उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर।’ 29त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्‍नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्‌ल्यो र गयो। 30र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने। यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन। 31यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन्। 32किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्‍वास गरे। र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ। 33अर्को दृष्‍टान्त सुन। एक जना मानिस थिए, जो जमिन मालिक थिए। उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए। त्यसपछि उनी अर्कै देशमा गए। 34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए। 35तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए। 36फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे। 37त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन्।’ 38तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ।’ 39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे। 40जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?” 41तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन्।” 42येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ?’ 43यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ। 44जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ। तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ।” 45जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे। 46तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।