सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 15

यो अध्याय यसमा पर्छ: Wie is Jezus?

1त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए। तिनीहरूले भने, 2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?” 3येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ? 4किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ।’ 5तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने, 6त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ। 7ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने, 8‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन्। 9तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’।” 10त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ– 11मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन। बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ।” 12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?” 13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ। 14तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन्।” 15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस्।” 16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ? 17के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ। 18तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन्। यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन्। 19किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन्। 20यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन्। तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन।” 21त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो। 22र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन्। तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन्।” 23तर येशूले एउटै पनि शब्द बोल्नुभएन। उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन्।” 24तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन।” 25तर तिनी आइन् र उहाँको अगाडि घोप्‍टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस्।” 26उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन।” 27तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन्।” 28त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “स्‍त्री, तिम्रो विश्‍वास महान् छ। तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस्।” र त्यही घडी तिनकी छोरी निको भइन्। 29येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो। त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो। 30ठुलो भिड उहाँकहाँ आयो। उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए। उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो। 31गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए। तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए। 32येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन। म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन्।” 33चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ?” 34येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन्।” 35त्यसपछि येशूले भिडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो। 36उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो। अनि चेलाहरूले ती भिडलाई दिए। 37मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए। र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे। 38स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए। 39त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।