सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 9

यो अध्याय यसमा पर्छ: Wonderen en roeping

1येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो। 2हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए। तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ। तिम्रा पाप क्षमा भएका छन्।” 3हेर, त्यहाँका केही शास्‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्‍वर-निन्दा गरिरहेको छ।” 4येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ? 5कुन कुराचाहिँ भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्‍न कि उठ र हिँड भन्‍न?’ 6तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ।” 7त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो। 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे। 9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए। उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।” तिनी उठे र उहाँको पछि लागे। 10जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए। 11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?” 12जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन्।” 13जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन।’ किनकि म, धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ। 14त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” 15येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन्। 16कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ। 17न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ। तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ। त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्‍छन्।” 18जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे। तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन्।” 19त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे। 20हेर, बाह्र वर्षदेखि धेरै रगत बग्‍ने एक जना स्‍त्री येशूको पछाडि आइन्, र उहाँको वस्‍त्रको छेउ छोइन्। 21किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु।” 22तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्‍नुभयो, र भन्‍नुभयो “छोरी, साहस गर। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि ती स्‍त्री तुरुन्तै निको भइन्। 23जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो। 24उहाँले भन्‍नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन्।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे। 25जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्‍नुभयो, र ती युवती उठिन्। 26यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो। 27जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए। तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” 28जब येशू घरभित्र आउनुभयो, ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु।” 29त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस्।” 30अनि तिनीहरूका आँखा खोलिए। त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस्।” 31तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए। 32जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो। 33जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो। भिडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन!” 34तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ।” 35येशू सारा सहरमा र गाउँहरूमा जानुभयो। उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो। 36जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए। तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए। 37उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन्। 38यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।