सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 20

यो अध्याय यसमा पर्छ: Op weg naar Jeruzalem

1किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए। 2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए। 3उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे। 4उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ यसैकारण तिनीहरू काम गर्न गए। 5फेरि उनी बार्‍ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे। 6एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए। उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’ 7तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ 8जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ।’ 9जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए। 10जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे। 11जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे। 12तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ।’ 13तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ। के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र? 14जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग। मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु। 15के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’ 16यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ। बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन्।” 17जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन्। तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्, 19र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन्। तर उनी तेस्रो दिनमा उठाइनेछन्।” 20त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन्। तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन्। 21येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस्।” 22तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन। के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ।” 23उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ। तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ।” 24जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए। 25तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन्। 26तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन। बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ। 27र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ, 28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन्।” 29जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो। 30र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए। येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस्।” 31तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस्।” 32तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?” 33तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन्।” 34तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो। तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।