सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 26

यो अध्याय यसमा पर्छ: Lijden, dood en opstanding

1येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 2“तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ।” 3त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए। 4तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे। 5किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस्।” 6अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, 7उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई। 8तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो? 9यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो।” 10तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन्। 11गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन। 12किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन्। 13साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ।” 14त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, 15र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए। 16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो। 17अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?” 18उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ। म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु।’” 19येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे। 20जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो। 21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” 22उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला?” 23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ। 24मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ। तर धिक्‍कार त्यस व्यक्‍तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो व्यक्‍ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो।” 25यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ।” 26उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो। उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ। यो मेरो शरीर हो।” 27उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ। 28किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ। 29तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन।” 30उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो। 31त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन्।’ 32तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” 33तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।” 34येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।” 35पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाले पनि त्यसै भने। 36त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस।” 37उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो। 38त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ। यहीँ बस र मसँगै जागा रहो।” 39उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो। उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस्। तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस्।” 40उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? 41जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर। आत्मा त तयार छ, तर शरीर भने कमजोर छ।” 42उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस्।” 43उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। 44त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो। उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्‍याउनुभयो। 45त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ। 46उठ, अब हामी जाऔँ। हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ।” 47जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए। मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो। तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए। 48अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन्। उनलाई नै पक्रनू।” 49तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्‍यो। 50येशूले उसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे। 51हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो। 52त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन्। 53के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न र? 54तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?” 55त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ। 56तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून्।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे। 57जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए। 58तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे। उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे। 59अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए। 60थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन्। तर पछि दुई जना अगि आए, 61र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’।” 62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?” 63तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?” 64येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ। तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ।” 65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ। अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ। 66तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ।” 67त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए, 68र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?” 69अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?” 70तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन।” 71जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो।” 72अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ।” 73त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ।” 74त्यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो। 75अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।